नागरिकता विधेयक पारित भएकामा एनआरएनएले गर्यो स्वागत

काठमाडौंः प्रतिनिधि सभाले गत शुक्रबार पारित गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' लाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले स्वागत गरेको छ। सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए।
उनले भने, “विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन्।”
यसैगरी सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएकामा त्यसको स्वागत गरिन्।
सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए। “यी अधिकारको परिभाषा अर्को विधयेक (गैरआवासीय नेपालीसम्बन्धी विधयेक)मा आउने छ। दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ। त्यसैले गैरआवासीय सङ्घले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ”, उनले भने।
सङ्घका अन्य थुप्रै पदाधिकारीले नागरिकता विधेयकको स्वागत गरे।
उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले भने यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्।
साउन ८, २०७९ आइतबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।