नागरिकता विधेयक नागरिकको हितमा छैन: प्रदीप ज्ञवाली

काठमाडौंः एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले बिना कुनै बहाना नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको बताए।
“राज्य व्यवस्था समितिमा जुटेको सहमतिविपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन”, उनले भने। एमालले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी गराउँदै उनले प्रचलित ऐनअनुसार वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आउने बित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको बताए।
वैवाहिक अङ्गीकृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उनको भनाइ छ।
हिजो प्रतिनिधि सभाबाट बहुमतले नागरिकता विधेयक पारित भएको थियो।
साउन ७, २०७९ शनिबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।