तातोपानीबाट लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन

तातोपानीबाट लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन

काठमाडौंः तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। यो लक्ष्यभन्दा दोब्बर बढी हो।

कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुद गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए।

उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड राजस्व उठेको हो। सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ। 

त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ। सङ्कलित राजस्व मासिक औसत ३० करोड रहेको छ।

अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्ब दुई करोड उठेको थियो। आगमी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उनले जानकारी दिए। मेसिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको उनले बताए।

साउन ७, २०७९ शनिबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।