लगातारको वर्षाले मेलम्ची र हेलम्बुका सडकमा क्षति

काठमाडौंः लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रका सडकमा क्षति हुन थालेको छ। गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ।
गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ। मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन्।
हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ।
त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ। अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ। जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन्।
“बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौँ”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने।
यता मेलम्ची नगरपालिकाको राम्चेमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।
साउन ७, २०७९ शनिबार १०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।