राजविराज भन्सारको राजस्व सङ्कलन बर्सेनि लक्ष्यभन्दा कम

राजविराज भन्सारको राजस्व सङ्कलन बर्सेनि लक्ष्यभन्दा कम

सप्तरीः राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ६१.०४ प्रतिशत राजस्व मात्र सङ्कलन गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा चार करोड १७ लाख ६४ हजार ९२ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

कार्यालयले ६ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो।

तथ्याङ्कले सबैभन्दा बढी असोजमा रु ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा रु १९ लाख १५ हजार राजस्व सङ्कलन भएको देखाएको छ।

कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले भारतसँग खुला सिमाना भएका कारण व्यापकरूपमा चोरीपैठारी हुने गरेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको बताए। उनले दरबन्दीअनुसार कर्मचारी समेत अभाव रहेको बताए।

भन्सार कार्यालयमा जम्मा एक भन्सार अधिकृत, दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर छन्। करारमा चार कार्यालय सहायकमध्ये दुई छोटी भन्सारमा र दुई अस्थायी पैठारीमा राख्ने गरिएको झाले बताए।

जिल्लामा मुख्य भन्सार कार्यालय एक र छोटी भन्सार सातसहित आठवटा भन्सार कार्यालयमध्ये हाल बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन्। दुवै छोटी भन्सारबाट लगातार अपेक्षाअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन।

कुन वर्ष अवैध व्यापार कति भयो भनेर भन्न सकिने अवस्था समेत नरहेको झाले बताए। भन्सार कार्यालय प्रमुख झाका अनुसार राजविराज भन्सार कार्यालयले आव २०७९/८० का लागि रु पाँच करोड ९९ लाख ३० हजार राजस्व सङ्कलनको लक्ष्य लिएको छ।

त्यसमध्ये भन्सार आयात शुल्कतर्फ रु तीन करोड ४४ लाख नौ हजार, मूल्य अभिवृद्धि करतर्फ रु दुई करोड ४२ लाख १२ हजार, अन्त शुल्कतर्फ रु १० लाख ४४ हजार, कृषि सुधार शुल्कतर्फ रु सात हजार र भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई लाख ५८ हजार रहेको छ।

साउन ७, २०७९ शनिबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।