युनियनको कोषाध्यक्ष सरोजको प्रतिवेदनमा शङ्कै शङ्का, उठाइएको पैसा देखाइएन

मकवानपुर : नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनको बन्द सत्रमा विवादै विवाद भएको छ। विधानबाट सुरु भएको विवाद कोषाध्यक्ष सरोज अधिकारीले पेस गरेको आर्थिक प्रतिवेदनमा थप चर्कियो।
३ वर्षका लागि निर्वाचित भएको कार्यसमितिले बल्ल ९ वर्षपछि अधिवेशन गरेको हो। अधिवेशनमा पेस गरेको आर्थिक प्रतिवेदनमा अति फितलो थियो।
नेपाल पत्रकार महासङ्घको निर्वाचनमा युनियनले आफ्नो समूह जिताउन पार्टीबाट समेत पैसा लिएको थियो। होटेल रिजर्भ गरेर समूह नै परिचालन गर्ने, सचिवालय अनामनगर र झम्सिखेलको रेस्टुरेन्टमा राखेको समितिले सबै आम्दानी र खर्च लुकाएको थियो।
अन्य संस्थाको निर्वाचनका लागि समेत समितिले पैसा उठाए पनि आर्थिक प्रतिवेदनमा उल्लेख गरिएन। आयव्ययको हिसाब व्यवस्थित नभएको, पारदर्शी नभएको र घोटाला भएको भन्दै पार्षदहरुले बन्द सत्रमा प्रश्न उठाएका थिए।
कोषाध्यक्ष अधिकारीले जवाफ दिन सकेनन्। उनले कुनै हिनामिना नगरेको मात्रै भनिरहे। तर प्रतिवेदनले त्यो देखाउन सकेको थिएन। आवश्यक परे बिल र खातापाता केन्द्रीय कार्यालयबाट ल्याउन तयार रहेको दाबी गरेका अधिकारीलाई पार्षद्हरूले लेखा प्रणालीबारे प्रश्न सोधिरहे।
आम्दानीमा अनुदान, बैङ्कबाट प्राप्त ब्याज र शाखाबाट पाएको सहयोग मात्र उल्लेख छ। २०७७/०७८ मा १४ लाख आम्दानी र खर्च १६ लाख उल्लेख छ। २०७६/०७७ मा २० लाख आम्दानी अनि खर्च २७ लाख छ।
२०७५/०७६ मा ३२ लाख आम्दानी अनि खर्च ३५ लाख उल्लेख छ। ०७४/०७५ मा ७ लाख आम्दानी अनि खर्च १६ लाख उल्लेख छ।
आर्थिक विवरण पुरै गन्जागोल देखिएपछि हलमा विरोध भयो। पार्षदहरु विरोधमा उत्रिएपछि कोषाध्यक्षको प्रतिवेदनमा अपुग विवरण थपे मात्र पारित गर्ने हलले निर्णय गर्यो। आवश्यक बिल र आम्दानीको स्रोत खुलाउनुपर्ने उनीहरूको माग थियो। कोषाध्यक्ष अधिकारी संस्थापन देउवा समूहबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन्।
साउन ६, २०७९ शुक्रबार २०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।