युनियनको निर्वाचनमा उम्मेदवारी शुल्कको विवाद, अध्यक्षका लागि २० हजार

युनियनको निर्वाचनमा उम्मेदवारी शुल्कको विवाद, अध्यक्षका लागि २० हजार

मकवानपुर : निर्वाचन समितिले उम्मेदवारी मनोनयनको शुल्क महँगो राखेपछि नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा विवाद भएको छ। अध्यक्षको उम्मेदवारी दर्ताका लागि ३० हजार राखेको समितिले केन्द्रीय सदस्यका लागि १५ हजार तोकेको थियो।

श्रमजीवी पत्रकारको संस्थाको निर्वाचनमा मनोनयनै गर्न नसक्ने गरी शुल्क तोकेको भन्दै प्रतिनिधि विरोधमा उत्रिएका थिए। विरोधपछि अध्यक्ष बद्री सिग्देलले आधा घट्ने आश्वासन दिएका थिए।

घट्यो पनि तर उनले भनेझैँ आधा घटेन। अध्यक्षको १० हजार घटेर २० हजार बनाइयो। वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क २५ बाट १० मा झारियो। अन्य पदको १० हजार कायम गरेर सदस्यको मनोनयन शुल्क पाँच हजार बनाएर नयाँ शुचि टाँसियो

नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट पत्रकारहरू अहिले मकवानपुरमा छन्। शनिवार निर्वाचन हुँदैछ। निर्वाचनमा संस्थापन र संस्थापन इतर समूह प्यानलै बनाएर निर्वाचनमा सहभागी हुँदैछन्। संस्थापन समूह अनिता विन्दुको नेतृत्वमा निर्वाचनमा सहभागी छ भने संस्थापन इतर समूह शिव लम्सालको नेतृत्वमा प्यानलसहित निर्वाचनमा सहभागी हुँदैछ।

विना प्यानल पनि आकाङ्क्षी छन्। तर कसले कुन पदमा उम्मेदवारी दिन्छन् एकिन भने छैन। अधिकांश आकाङ्क्षी घोषणा गरेको पदबाट तल झरेर पनि समूहमै बसेका छन्। केहीको पदै प्रमोसन पनि भयो। अध्यक्षको दाबी गरेका सरोज अधिकारी अनिता समूहबाट वरिष्ठ उपाध्यक्षमा झरे। अर्को प्यानलमा प्रेम केसी उम्मेदवार बने। उनले कुनै पदमा उम्मेदवारी घोषणा गरेका थिएनन्।

अनिता प्यानलबाट महासचिवमा जगन्नाथ दुलालले टिकट लिएर अन्य आकांक्षीहरुलाई चकित बनाए। यता लम्साल समूहबाट दिलीप पौडेल आधिकारिक भए।

महासचिव दाबी गरेका नकुल अर्याल उपाध्यक्षमा गए। रमेश वाग्ले कोषाध्यक्षमा झरे। 

साउन ६, २०७९ शुक्रबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।