भाषणमा 'आउटडेटेड' भए देउवा, हेटौंडामा अतिथिले नै बेवास्ता गरे, सहभागीले हल्ला मात्र गरे

हेटौंडाः नेपाल प्रेस युनियनको ९औं राष्ट्रिय महाधिवेशन हेटौंडामा जारी छ। महाधिवेशनको आज उद्घाटन समारोह।
उद्घाटन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा हेटौंडा पुगे। उनी नै कार्यक्रमको मुख्य अतिथि पनि।
तर मुख्य अतिथिको भाषणमा भने कसैले चासो नै दिएन। मञ्चमा बसेका अतिथिहरूले नै भाषणलाई बेवास्ता गरे। सहभागीहरू हल्ला मात्र गरेर बसे।
देउवाले आफ्नो भाषण उपेक्षा गरेको महसुस गरेपछि 'हल्ला कम गरौं अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरौं' भन्दै लिखित मन्तव्य सुनाउन थाले। तर देउवाको भाषण बुझिएन। झन् सहभागी र अतिथिहरू आ-आफैं गफ गर्न लागे।
सुरुमा त उनको भाषणलाई ध्यान दिएर सुनेका थिए- वरिष्ठ नेता रामचन्द्र पौडेल, सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले। तर नेता पौडेलले एकछिनपछि भाषण नबुझेपछि खल्तीबाट चस्मा झिके र युनियनको विमोचन भएको पत्रिका पढ्न थाले।
त्यसअघि त्यो पत्रिका पार्टीका उपसभापति धनराज गुरुङले पढिरहेका थिए। पत्रिका सरसर्ती हेरेर गुरुङ शान्त भए। सँगै रहेका पार्टी प्रवक्ता प्रकाशशरण महत मोबाइलमै घोत्लिरहे।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि आफ्नै धुनमा थिए।
देउवा सार्वजनिक कार्यक्रमका लागि र अझ विशेषतः भाषण गर्नका लागि 'आउटडेटेड' भएको प्रष्ट दृश्य प्रेस युनियनको महाधिवेशनले देखाइरहेको थियो।
साउन ६, २०७९ शुक्रबार १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।