बस र माइक्रो ठोकिँदा एक जनाको मृत्यु, १७ घाइते

काठमाडौंः पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बस र माइक्रो एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौं गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाएका थिए।
सो क्रममा विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५/३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी दुवै सवारी साधनका अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
साउन ६, २०७९ शुक्रबार ०७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।