तलब नपाएपछि जनता टेलिभिजनका पत्रकार आन्दोलित

काठमाडौं : श्रमजीवी पत्रकार संघ नेपालले नयाँ बानेश्वरस्थित जनता टेलिभिजनका पत्रकार तथा कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेको छ। सो टेलिभिजनमा ९ महिनादेखि तलब नपाएको पीडित पत्रकारले गुनासो गरेका छन्।
संघका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालय अगाडि आज कालो ब्यानर र पोष्टरसहित एक घण्टा धर्ना दिइयो। अध्यक्ष जैसीले अहिलेको २१औँ शताब्दीमा पनि श्रम शोषण गरिनु लाजमर्दो भएको बताए।
धर्ना कार्यक्रममा सार्क जर्नालिस्ट फोरम, नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवाल, सो सङ्घका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णुकुमार गिरी लगायतले ऐक्यबद्धता जनाएका थिए।
प्रारम्भिक चरणको आन्दोलनमा टेलिभिजनको कार्यालयमा धर्ना दिने, अझै पारिश्रमिक नआए सञ्चालक सदस्यहरूको घरमै पुगेर धर्ना दिने र त्यसपछि पनि अटेर गरे सबैको तस्बिरको पोस्टर बनाएर सञ्चालक समितिको छिमेक वरपर बाँड्ने कार्यक्रम रहेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ।
सो टेलिभिजनका पीडित पत्रकार तथा कर्मचारीहरूले व्यवस्थापन समक्ष तीन दिने अल्टिमेटम दिँदै ६ बुँदे माग राखेका छन्।
साउन ५, २०७९ बिहीबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।