नयाँ पार्टी गठनबारे ललितपुरको हात्तिबनमा प्रचण्ड-बाबुराम छलफलमा, समाजवादी केन्द्र प्रस्ताव

काठमाडौँ : हात्तिबनको एक निजी घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीबाट निकालिएका डा बाबुराम भट्टराईबिच भएको छलफलमा माओवादी पार्टीको नाम बदल्नेबारे छलफल भएको छ।
बाबुरामलाई उपेन्द्र यादव समूहले जसपाबाट निकालेपछि यी दुवै नेताबिच भएको यो दोस्रो छलफल हो। पहिलो भेट सकारात्मक भएपछि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल र नेकपा एकता अभियान चलाइरहेका बामदेव गौतमसँग छलफल गरेका थिए।
बिहीबार प्रचण्ड र बाबुरामको भेटमा एकै पार्टीका सहकार्य गर्नेबारे छलफल भएको जानकारस्रोतले बतायो। प्रचण्डले बाबुरामलाई माओवादीमा फर्कन आग्रह गरेका थिए।
जवाफमा बाबुरामले एकै पार्टीमा काम गर्न सकारात्मक रहेको तर माओवादी नाम कायम रहे फर्कन नसक्ने बताएका थिए। उनले आफू पार्टी पुनर्गठनको अभियानमा रहेको भन्दै माओवादी पार्टी समेत पुनर्गठन गरेर नाम बदले मात्र आफू सहकार्य गर्न तयार रहेको जवाफ दिएका थिए।
उनले समाजवादी केन्द्रको रूपमा अगाडि बढ्न प्रस्ताव गरेपछि प्रचण्डले आफू सकारात्मक रहेको तर पार्टीको नामै बदल्न भने पार्टीभित्र छलफल गर्नुपर्ने बताएका थिए।
प्रचण्डले एकीकृत समाजवादी र बामदेवसँग पनि सके एकै दलको रूपमा सहकार्य गर्न नत्र एकै मोर्चा बनाएर निर्वाचनमा जान प्रस्ताव गरेका थिए। एकीकृत समाजवादीका नेताहरू समेत समाजवादी केन्द्र बनाउन सकारात्मक छन्। तर कतै आफ्ना कार्यकर्ता एमालेमा फर्कने हो कि भन्ने भय देखिन्छ।
साउन ५, २०७९ बिहीबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।