प्रदिप ज्ञवालीको प्रश्न- अमेरिकाको फोटो राखेर गलत प्रचार गरियो, यसले कसैको भान्सा सस्तो हुन्छ ?

काठमाडौं : नेकपा एमालेका नेता एवं सांसद प्रदीप ज्ञवालीले महँगीको विषयमा आफूले बोलेको कुरालाई बंग्याएर प्रचार गरिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै ज्ञवालीले महँगीको विषयमा आफूले दिएको अभिव्यक्तिलाई विषयान्तर गरी अमेरिकामा खिचिएको तस्बिर राखेर ट्रोल बनाइएको बताए।
उनले भने, 'सो तस्बिर मैले अमेरिकामा खाना खाँदाको हो। ‘अमेरिकामा खाना खाँदै गरेको फोटो जोडेर मलाई ट्रोल बनाइयो।'
गलत तस्बिर राखेर प्रचार गर्दैमा कसैको भान्सा सस्तो नहुने उनको भनाइ थियो। 'मेरो बदनाम गर्दा कसैको भान्सा सस्तो हुन्छ भने होस्, मेरो शुभकामना छ,’ उनले भने।
ज्ञवालीले एमालेको उपभोक्ता विभागले आयोजना गरेको कार्यक्रममा आफू पूर्वमन्त्री र सांसद भए पनि भान्सामा दुईथरी तरकारी पकाउन मुस्किल भएको अभिव्यक्ति दिएका थिए। उनको भनाइपछि विभिन्न परिकारसहित उनले खाना खाइरहेको फोटो सार्वजनिक भएको थियो।
साउन ५, २०७९ बिहीबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।