मधेश प्रदेशमा बढे कोरोना सङ्क्रमित

काठमाडौंः मधेश प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ। सक्रमित बढेसँगै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ।
असारको अन्तिम सातासम्म मधेश प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण हाल पुनः बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सतर्कता अपनाउन अपिल गरेको हो।
मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, सङ्क्रमणको शङ्का भएमा परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन आग्रह गरिएको छ।
मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।यसअघि गत मङ्गलबार पनि मधेश प्रदेशसमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
योसँगै प्रदेशमा कोरोना पोजेटिभका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पर्साको वीरगञ्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नभेटिएको निर्देशानालयले जनाएको छ।
यसैबीच, अहिलेसम्म मधेश प्रदेशमा कोरोना सङ्क्रमित भएकामध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ।
साउन ५, २०७९ बिहीबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।