मदिरा सेवन गरे १५ दिन र बिक्री गरे एक महिना ढुङ्गा बोकाइने

डोटीः जिल्लाका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितरण रोक्न आ–आफ्नै निर्णय गरेका छन्। केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ।
वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए। वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडाबासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो।
यसैगरी उक्त वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णय गरेको वडा कार्यालयले जनाएको छ।
जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई रु ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई रु ३० हजार जरिवाना गर्ने निर्णय गरिएको बताए।
यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक रु दुई हजार ५०० र दोस्रो पटक रु पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको पनि उनले सुनाए।
सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभर मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए।
जिल्लामा नौ स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ। कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री वितरण भइरहेकाले उनीहरूलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिए।
साउन ५, २०७९ बिहीबार १२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।