भैरहवा भन्सार कार्यालयले गर्‍यो सवा एक खर्ब राजस्व संकलन, तर लक्ष्य भेटाएन

भैरहवा भन्सार कार्यालयले गर्‍यो सवा एक खर्ब राजस्व संकलन, तर लक्ष्य भेटाएन

बुटवलः देशकै दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो।

यो कुल राजस्व संकलनको ९०.९४ प्रतिशत हो।

चालु आर्थिक वर्ष २०७९/८० का लागि भन्सार विभागले एक खर्ब ५५ अर्बको लक्ष्य भैरहवा भन्सार कार्यालयलाई दिएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा करिब ४० अर्ब धेरै हो।

आर्थिक वर्ष २०७८/०७९ मा राजस्व संकलन लक्ष्यअनुसार नगरेको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ भने १२ प्रतिशत बढी राजस्व संकलन गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०७४/०७५ मा ८६ प्रतिशत, आर्थिक वर्ष २०७५/०७६ मा ८८ प्रतिशत, वर्ष २०७६/७७ मा ६६ प्रतिशत मात्र राजस्व असुल गरेको थियो।

भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार पुस ५ गतेबाट लागू हुनेगरी नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको हो।

आर्थिक वर्ष २०७८/०७९ मा बेलहिया नाकाबाट दुई खर्ब ९६ अर्ब ९७ करोड ४० लाख १९ हजार रुपैयाँका विभिन्न मालवस्तु आयात भएको छ। सात अर्ब ८८ करोड चार लाख ३३ रुपैयाँका मालवस्तु निर्यात भएको छ।

कार्यालयका अनुसार यस नाकाबाट अधिकांश भारतबाट आयात भएका जीप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार राजस्व संकलन भएको छ। यस्तै, मोटरसाइकलबाट १९ अर्ब ९१ करोड १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट पाँच अर्ब ७४ करोड ८८ लाख ६० हजार, एम.एस. विलेटबाट चार अर्ब ४० करोड पाँच लाख ९३ हजार, पेट्रोलबाट चार अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट तीन अर्ब ४९ करोड आठ लाख ९४ हजार, हाइस्पीड डिजेलबाट दुई अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट दुई अर्ब ९ करोड ४५ लाख ७७ हजार, मार्बल स्ल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख आठ हजार राजस्व संकलन भएको छ।

भैरहवा भन्सार कार्यालयबाट एक वर्षमा एक अर्ब ९० करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ। त्यस्तै एक अर्ब पाँच करोडको भटमासको तेल, ५५ करोडको पिना, ४७ करोडको खोटो रेजिन, ४४ करोडको खजुरको प्रशोधित तेल, ३९ करोडको लिड शिशा, ३५ करोडको चोकर भुस, २५ करोडको काँच तथा डण्डी ट्युब, २१ करोडको चाउचाउ पास्ता, र २० करोडको स्टीलका भाँडाकँडा लगायतका वस्तु निर्यात भएको छ।

साउन ५, २०७९ बिहीबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।