फुकोट–कर्णाली जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीयलाई

काठमाडौंः फुकोट–कर्णाली जलविद्युत् आयोजनाले १० प्रतिशत शेयर स्थानीयलाई दिने भएको छ। ४८० मेगावाट क्षमताको उक्त आयोजनाले यस्तो निर्णय गरेको हो।
प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय भने चाँडै गरिने आयोजनाका प्रमुख हिरामन वाइबाले जानकारी दिए। “स्थानीयलाई शेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन”, उनले भने।
आयोजनाको निर्माण आगामी वर्षबाट हुनेछ। आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ। आयोजनाका संरचना सो गाउँपालिकाको वडा नं १, २ र ३ मा बन्नेछन्। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको प्रमुख वाइबाले बताए। आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रहेको छ।
आयोजनाले एक हजार १४९ परिवार प्रभावित हुनेछन्। आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले जानकारी दिए।
हालसम्म रु ५० करोडभन्दा बढी रकम मुआब्जाबापत वितरण गरिएको छ।
साउन ५, २०७९ बिहीबार १०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।