प्रेस युनियनको नेतृत्वका लागि देउवा-कोइराला गुट प्रतिस्पर्धामा, 'गुटको अन्त्य गर्छु' भन्ने महामन्त्री गगन गुट उम्मेदवार छान्दै

प्रेस युनियनको नेतृत्वका लागि देउवा-कोइराला गुट प्रतिस्पर्धामा, 'गुटको अन्त्य गर्छु' भन्ने महामन्त्री गगन गुट उम्मेदवार छान्दै

काठमाडौँ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको निर्वाचनमा पार्टीमा रहेको नेताहरूको गुटगत रूपमा प्रतिस्पर्धा हुने भएको छ। पार्टीमा संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर शेखर कोइरालाको समूह सक्रिय छ। पोखरामा महाधिवेशन भएको नौ वर्षपछि मकवानपुरमा  हुन लागेको महाधिवेशनमा पनि देउवा र कोइराला समूहका उम्मेदवार बिच प्रतिस्पर्धा हुन लागेको हो।  

सहमतिमा उम्मेदवार तय गर्न अध्यक्ष बद्री सिग्देलले डा सुरेश आचार्यको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएका थिए। आचार्य सहित अध्यक्ष सिग्देल, वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, कबिर राणा, समिरजंग शाह र नवराज लम्साल समितिमा सदस्य छन्। तर समितिले सहमति जुटाउन नसकेपछि पार्टीगत गुटले आ-आफ्नो उम्मेदवार छानिरहेका छन्।

देउवा समूहले अध्यक्षदेखि प्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएका छन्। तर कोइराला समूह उम्मेदवारको सूची तयार पार्न ३ दिनदेखि क्लोज क्याम्पमा बसे पनि आकाङ्क्षीबिच सहमति जुटाउन सकेका छैनन्।

संस्थापनका उम्मेदवार टुङ्ग्याउने जिम्मा पार्टी प्रवक्ता प्रकाशशरण महतले लिए। संस्थापन टिम छान्ने टोलीमा उपसभापति पूर्ण खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्की र वर्तमान अध्यक्ष बद्री सिग्देल समेत छन्। 

संस्थापन पक्षबाट अध्यक्षमा अनिता विन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महिला उपाध्यक्षमा कल्पना शर्मा, कोषाध्यक्षमा माधव धिताल, उपमहासचिवमा केशव सावद, महिला उपमहासचिवमा दिलिपा अधिकारी, सचिवमा खगेन्द्र भण्डारी, महिला सचिवमा मेनुका ढुङ्गानाको नाम तय भएको दाबी आएका छन्। अन्य उम्मेदवारको नाम अझैँ टुङ्गिएको छैन।

विन्दु नेपाल टेलिभिजनमा कार्यरत छिन्। उनी यस अगाडि नेपाल पत्रकार महासङ्घको उपाध्यक्ष भएकी थिइन्। उनी निर्वाचित भएमा युनियनले पहिलो पटक महिलाको नेतृत्व पाउने छ। अधिकारी यस अगाडिको कार्यकालमा कोषाध्यक्ष थिए। 

उता संस्थापन इतरबाट महामन्त्री गगन थापा, सह-महामन्त्रीहरु बद्री पाण्डे र जीवन परियारसँगै युनियनका पूर्व महासचिव तथा केन्द्रीय सदस्य अजयवावु सिवाकोटी टिम बनाउन सक्रिय छन्।  उनीहरूले अध्यक्ष उम्मेदवारकै नाम समेत टुङ्ग्याउन सकेका छैनन्। बुधबार अबेरसम्म बसेको बैठकमा सहमती नभएपछि बिहीबार टुंग्याउने भन्दै बैठक सकिएको छ।

संस्थापन इतरबाट दीपक आचार्य, शिव लम्साल टिकट लिने प्रतिस्पर्धामा छन्। लम्साल कोइराला समूहबाट आधिकारिक उम्मेदवार बन्ने सम्भावना बलियो रहे पनि निर्णय भने भइसकेको छैन। वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, नीरज खतिवडा लगायतले उम्मेदवारी घोषणा गरेका छन्। सलोजा दाहाल, कल्पना शर्माले महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

महासचिवमा संस्थापनबाट युनियन काठमाडौँ शाखा अध्यक्ष दुलालको नाम तय भए पनि संस्थापन इतरबाट टुङ्गिएको छैन। दिलीप पौडेल, रमेश वाग्ले, खिला कार्की, शिवराज योगी, नकुल अर्याल प्रतिस्पर्धामा छन्।

उपमहासचिवमा रवीन्द्र सुवेदी, भुवन शर्मा, सुलोचना गौतम, युवराज गौतम, कुसुम बिक (सेन्चुरी) लगायतकाले आकाङ्क्षा देखाएका छन्। कोषाध्यक्षमा संस्थापनबाट धितालको नाम तय हुँदा इतर समूहबाट नाम टुङ्गिएको छैन।

सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, कालिका महत, एलपी देवकोटा लगायतले आकाङ्क्षा देखाएका छन्।

संस्थापनमा कुरा नमिलेपछि देउवाको हस्तक्षेप

पोखराबाट सिग्देलको नेतृत्वमा निर्वाचित कार्यसमिति सबैभन्दा विवादित र कमजोर रह्यो। तर अहिले युनियनको नेतृत्वमा दाबी गर्नेहरू त्यही कार्यसमितिमा रहेकाहरूकै बाहुल्यता देखिन्छ।

संस्थापन समूहबाट अध्यक्षको उम्मेदवार बन्न तीव्र लबिङ गरे पनि अधिकारी सफल भएनन्। उपाध्यक्ष पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासँगै अध्यक्ष बद्री सिग्देलले सरोजलाई साथ दिए। नेता ज्ञानेन्द्र कार्की र पार्टी प्रवक्ता प्रकाशशरण महत अनिताको पक्षमा थिए।

उनीहरूले नाम तय गर्न नसकेपछि दुबैजनाको नाम पार्टी सभापति देउवाकोमा पुगेपछि उनले अनिताको नाम सदर गरेका थिए। सरोज वरिष्ठ उपाध्यक्षमा सहमत भए। अनितासहितको टिमलाई निर्वाचनमा बलियो दाबेदार बनाउने हो भने काठमाडौँमा प्रभाव पार्न सक्ने व्यक्ति टिममा राख्नुपर्ने छलफल भएको थियो।

सबैभन्दा बढी सदस्य र पार्षद् काठमाडौँ शाखामा छन्। १ सय ७० जना पार्षद् काठमाडौँका छन्। उपत्यकाका विभिन्न प्रतिष्ठानका गरी तीन सय मत काठमाडौँमा छ। काठमाडौँका पूर्व अध्यक्ष शिव लम्साल संस्थापन इतरबाट अध्यक्ष हुने र काठमाडौँको भोट इतर समूहमा गयो भने जित्न गाह्रो हुने विश्लेषणका आधारमा जिल्ला अध्यक्ष दुलाललाई संस्थापनले महासचिवको उम्मेदवार बनायो।

दुलाल महासचिवमा आएपछि महासचिवका आकाङ्क्षी केशव सावद सह-महासचिवमा झरे। समूहका बाँकी उम्मेदवार नाम अधिकारी र वर्तमान अध्यक्ष सिग्देलले तयार पार्दै छन्। काठमाडौँका अर्का पूर्व अध्यक्ष नकुल अर्याल संस्थापन इतरबाट महासचिवका आकाङ्क्षी छन्।

उही ड्याङमा कोइराला-गगन

पार्टीमा गुटको अन्त्य गर्ने भन्दै १४ औँ महाधिवेशनमा नेतृत्वका दाबी गरेका कोइराला अनि महामन्त्रीमा निर्वाचित गगन युनियनमा आफ्नै गुट बनाएर प्रतिस्पर्धामा जाने पक्कापक्की देखियो। पार्टीभित्रको कुनै समूहमा नखुलेकाहरू समेत उम्मेदवारका आकाङ्क्षी नभएका हैनन्। तर उनीहरूले उम्मेदवार छान्दा आफ्नो गुटप्रति लोयलै छान्ने निश्चित छ। त्यसमा लम्सालको नाम सबैभन्दा अगाडि छ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसीको नाम अगाडि देखिन्छ। , खुला उपाध्यक्षमा राममणि दाहाल, महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दीपेन्द्र बान्तवाको नाम टुङ्गो लगाइएको जानकारले बताए।

सो समूहमा महासचिवमा खिला कार्की, नकुल अर्याल र रमेश वाग्ले आकाङ्क्षी छन्। अध्यक्षको उम्मेदवार कोइरालाको छनौटमा गर्ने र महासचिव भने थापाको छनौटको हुनुपर्ने विवादले महासचिवको नाम टुङ्गिन सकेको छैन। महासचिवका आकाङ्क्षीहरू कार्की, अर्याल, पौडेल र वाग्ले चारै जनालाई पदाधिकारीमा समेटेर लैजान मनाउने प्रयास जारी छ।

मकवानपुरमा साउन ६ र ७ गते हुने युनियनको ९ औँ महाधिवेशनका लागि मनोनीतबाहेक एक हजार ६ सय २० प्रतिनिधि मतदाता छन्।

साउन ४, २०७९ बुधबार २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।