एमालेमा 'बा' भन्नेहरूको बिगबिगी, 'कमरेड' भन्नेहरू किनारामा : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा 'बा' भन्नेहरु बिगबिगी हुन थालेपछि पार्टीमा विद्रोह गर्नुपरेको बताएका छन्।
एमाले निजी कम्पनीका रूपमा परिणत भएको आरोप लगाउँदै उनले पार्टी दक्षिणपन्थी बाटोमा गएको र राष्ट्रलाई नै कुठाराघात गर्ने काम गरेको समेत बताएका छन्।
स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता नेपालले भने, 'आफ्नो आदेश पालना गर्नेलाई मात्रै मन्त्रीमा भर्ना गर्ने र उसले जायज नाजायज काम गर्दा पनि आँखा चिम्लने काम भयो। बिसर्जनको दिशामा जाने काम भयो।'
नेपालले थपे, 'आफूसित असहमत भएका मानिसलाई पाखा लगाउने काम भयो। बा भन्नेहरुको बिगबिगी र कमरेड भन्नेहरुलाई पाखा लगाउने काम हुन थालेपछि विद्रोह गर्न बाध्य भइयो।'
गठबन्धनको गीत बढी गाएर स्थानीय चुनावमा पराजय भोग्नुपरेको पनि नेपालले बताए। उनले भने, 'हामी अरुको सहारामा बाँच्यौं। गठबन्धनको गीत गाएर आफ्नो तयारी गर्न सकेनौं। हाम्रा कमजोरी भए। कतिपय ठाउँमा उम्मेदवारी नै दिएनौं।'
निर्वाचनमा कतै गठबन्धनबाट धोका, कतै पार्टी भित्रकै अन्तरविरोधका कारण पनि आफ्नो पार्टी कमजोर भएको नेपालको भनाइ थियो। उनले भने, 'पार्टीको धारणाभन्दा बाहिर गएर आफ्नै उम्मेदवार हराउन खोज्ने काम पनि भयो। हामी अरुलाई दोष मात्रै दिँदैनौं। आफ्नो कमजोरी पनि हेर्छौं।'
साउन ४, २०७९ बुधबार १२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।