श्री स्टिल्सका फलामे छड भारतमा निर्यात सुरु

श्री स्टिल्सका फलामे छड भारतमा निर्यात सुरु

बुटवल : रुपन्देहीको रोहिणी गाउँपालिका-३, सेमरहवामा रहेको श्री स्टिल्स प्रालिले बुधबारदेखि भारतमा स्टिल्स निर्यात गर्न सुरु गरेको छ।

स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा सरकारले ८ प्रतिशत अनुदान दिएसँगै उद्योगले आफ्नो उत्पादन भारतमा निकासी गर्न सुरु गरेको हो।

उद्योगले बुधबार भारतको उत्तर प्रदेशमा पहिलो पटक एक ट्रक, करिब ३५ टनसम्म टिएमटी फलामे छड पठाएको छ।

बलियो र गुणस्तरीय निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले सरकारले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार भारत निर्यातको शुभारम्भ गरेको श्री स्टिल्स प्रालिका सञ्चालक राजेश अग्रवालले बताए।

´हाम्रो गुणस्तर र उत्पादनलाई कायम तथा वृद्धि गर्दै मुलुकलाई स्टिल्समा आत्मनिर्भर बनाउँदै विदेश निर्यातमा पनि वृद्धि गर्ने अभियानका साथ अगाडि बढ्ने छौं,` उनले भने। उनले नगद अनुदान घोषणा भए पनि छिटो कार्यविधि बनाउन सरकारलाई आग्रह पनि गरे।

उद्योगका कार्यकारी निर्देशक सोनेस अग्रवालले छड भारत निकासीपछि देशमा मुद्रा सञ्चिति बढ्ने बताए।

रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले रोहिणीबाट भारतमा छड निकसी हुनु सुखद भएको बताए।

केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टिल्स टिएमटी फलामे छड उत्पादन गर्दै आएको छ।

साउन ४, २०७९ बुधबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।