एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन पनि गभर्नरको राजीनामाको पक्षमा

एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन पनि गभर्नरको राजीनामाको पक्षमा

काठमाडौँ : गभर्नर विवाद लगत्तै माओवादी केन्द्रको विद्यार्थी सङ्गठन आन्दोलनमा उत्रिए पनि सत्ताधारी दल नेपाली कांग्रेस र एकीकृत समाजवादीका सङ्गठन भने मौन थिए। एकाएक नेपाल विद्यार्थी सङ्घ पनि अनेरास्ववियु क्रान्तिकारीसँगै मिसिएर गभर्नरलाई राष्ट्र बैङ्क छिर्न नदिन आइतबार आन्दोलनमा उत्रियो।

तर एकीकृत समाजवादीका नेता मात्रै हैन यसको विद्यार्थी सङ्गठन पनि यसबारे मौन नै थियो। मङ्गलवार एकाएक क्रान्तिकारी र नेबिसंघसँगै एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन पनि गभर्नर महाप्रसाद अधिकारीको विपक्षमा उभिएर अन्य २ सङ्गठनसँगै आन्दोलनमा सहभागी हुने भएको छ।

एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनको बर्खास्ती या राजीनामाको माग गर्दै उनीहरूले जारी गरेको विज्ञप्तिमा चरणबद्ध आन्दोलनका कार्यक्रम उल्लेख गरिएको छ।

विज्ञप्ति अनुसार साउन ३ मा गभर्नर बर्खास्तीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउने, साउन ४ मा राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने, साउन ५ मा प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने, साउन ७ मा सांसदहरूलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाब दिने उल्लेख छ।

साउन ३, २०७९ मंगलबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।