संसदीय समितिले पूर्व अर्थमन्त्री शर्मासहित अन्नपूर्ण र कान्तिपुरको सम्पादकलाई छलफलमा बोलायो

संसदीय समितिले पूर्व अर्थमन्त्री शर्मासहित अन्नपूर्ण र कान्तिपुरको सम्पादकलाई छलफलमा बोलायो

काठमाडौँ : अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर नै हेरफेर गरेको आरोपमा संसदीय अनुसन्धानमा परेका पूर्व अर्थमन्त्री जनार्दन शर्मासँगै समाचार प्रकाशित गर्ने २ पत्रिकाका सम्पादक समेतलाई छानबिन समितिले बोलाएको छ।

मङ्गलवार बसेको समितिको बैठकले पूर्व अर्थमन्त्री शर्मासँगै यसबारे पहिला समाचार प्रकाशित गर्ने अन्नपूर्ण पोस्ट र कान्तिपुरका सम्पादकलाई समेत बोलाउने निर्णय गरेको छ।

अर्थ मन्त्रालयमा २ जना अनधिकृत व्यक्तिलाई बोलाएर सरकारी कर्मचारीलाई उनीहरूले जे भन्छन् सोही अनुसार करको दर राख्न शर्माले निर्देशन दिएकोबारे पहिला अन्नपूर्णले समाचार प्रकाशित गरेको थियो।

व्यापारिक स्वार्थ अनुसार बजेट बनाएको भन्दै प्रमुख प्रतिपक्षी दल विरोधमा उत्रिएसँगै सभामुख अग्निप्रसाद सापकोटाले असार २२ मा छानबिनका लागि विशेष समिति गठन गर्ने निर्णय गरेका थिए। सो निर्णय लगत्तै शर्माले राजीनामा दिएका थिए।

काम सुरु गरेको १० दिनमा प्रतिवेदन बुझाउने गरी जिम्मेवारी पाएको समितिले त्यस दिनको क्लोज सर्किट टेलिभिजनको रेकर्डहरु मगाउने, अर्थ सचिव मधु मरासिनी लगायतका अर्थका कर्मचारीहरूसँग बयान लिने लगायतका काम गरिसकेको छ।

तर अहिलेसम्म उनीहरूले शर्मामाथि लागेको आरोप प्रमाणित हुने प्रमाण पाउन सकेका छैनन्। उनीहरूले बयान लिएका सरकारी कर्मचारीले सबै आरोप अस्वीकार गरिसकेका छन् भने पाएको हार्डडिक्सबाट आरोप पुष्टि हुने प्रमाण फेला पार्न सकेका छैनन्।

साउन ३, २०७९ मंगलबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।