कांग्रेससँग बार्गेनिङ पावर बढाउन सक्रिय भए प्रचण्ड, समाजवादी केन्द्र बनाउन अगाडि बढाए छलफल

कांग्रेससँग बार्गेनिङ पावर बढाउन सक्रिय भए प्रचण्ड, समाजवादी केन्द्र बनाउन अगाडि बढाए छलफल

काठमाडौँ : अलग-अलग गठबन्धन गर्दा नेपाली कांग्रेसको बार्गेनिङ शक्ति बढेकाले नेतृत्व साझेदारीको सर्तसहित एकीकृत गठबन्धन गर्न सरकारमा रहेका तीन दलका नेता छलफलमा जुटेका छन्।

मङ्गलवार जनता समाजवादीबाट कारबाहीमा परेका बाबुराम भट्टराईसँग छलफल गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा तीन दलका नेता छलफलमा जुटेका हुन्। छलफलमा नेकपा एकता टुटेपछि एमालेबाट राजीनामा दिएर बसेका बामदेव गौतम समेत सहभागी छन्।

सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा प्रचण्डसँगै नाराणकाजी श्रेष्ठ र वर्षमान पुन छन्। एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपालसँगै झलनाथ खनाल सहभागी छन् भने नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका गौतम पनि छलफलमा छन्।

बैठकको उद्देश्य सके सबै दलहरू एकीकृत भएर समाजवादी केन्द्रको निर्माण गरेर एकै चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने र यो सम्भव नभए गठबन्धनभित्र पनि उपगठबन्धन निर्माण गरेर कांग्रेससँगको बार्गेनिङ पावर बढाउने देखिन्छ।

स्थानीय तहको निर्वाचनको परिणामपछि कांग्रेसले सन्तोषै माने पनि माओवादी केन्द्रले कांग्रेस अनुदार भएको र एकीकृत समाजवादीले हैसियतभन्दा बढी माग गरेको निष्कर्ष निकालेको थियो। एकीकृत समाजवादीले कांग्रेसले दम्भ देखाएको र माओवादी अवसरवादी देखिएको निष्कर्ष निकालेको थियो।

स्थानीय तहको निर्वाचनमा पाँच दल छुट्टाछुट्टै सहभागी हुँदा कांग्रेसलाई बढी फाइदा भएको र आगामी संसदीय निर्वाचनमा पनि त्यसरी नै गठबन्धन गर्दा कांग्रेस नै हाबी हुनेमा उनीहरू एकमत देखिन्छन्।

कांग्रेससँग माओवादी र एकीकृत समाजवादीका नेताहरू सन्तुष्ट छैनन्। तर उनीहरू गठबन्धनको विकल्पमा जान सक्ने अवस्थामा पनि देखिएका छैनन्। एमालेसँगको तिक्तताका कारण तत्काल गठबन्धन बन्ने समेत देखिएको छैन।

उता प्रचण्ड आगामी निर्वाचनपछि सत्ता गठबन्धनमा सरकार नेतृत्व गर्ने सम्बन्धमा कार्यकाल बाँड्नुपर्ने पक्षमा उभिइसकेका छन्। तर कांग्रेसले केन्द्रीय समितिको बैठकमार्फत नै गठबन्धन कायम राख्ने र स्थायी सरकार हुने निर्णय गरेर उनको प्रस्ताव स्वीकार नहुने सन्देश दिइसकेको छ।

साउन ३, २०७९ मंगलबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।