प्रचण्ड, बाबुराम, माधव, बामदेव छलफल : नयाँ दलको गृहकार्य कि नयाँ गठबन्धन !

काठमाडौँ : जनता समाजवादी पार्टीको कारबाहीमा परेर दलविहीन बनेका डा बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मङ्गलवार सिंहदबारमा छलफलमा जुटे।
माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा प्रचण्डले बाबुरामलाई नयाँ दल निर्माणतिर भन्दा माओवादी केन्द्रमा आउन निमन्त्रणा दिएका थिए। तर आफू अब कम्युनिस्ट नरहेको घोषणा गरिसकेका बाबुरामले भने माओवादी केन्द्रको साटो समाजवादी केन्द्र निर्माणमा जोड दिएका थिए।
उनीहरूबिच एक घण्टाको छलफल भएपछि आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनि दलहिन अवस्थामा रहेका बामदेव गौतमसहित पुन छलफल गर्ने तयारी छ।
पछिल्लो समय प्रचण्ड आगामी निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर गए पनि सरकारको नेतृत्व भने आलोपालो हुनुपर्ने पक्षमा उभिएका छन्। कांग्रेसले भने गठबन्धन गरेर जाने तर आलोपालो नभई स्थानीय नेतृत्वको पक्षमा उभिने निर्णय गरिसकेको छ।
गठबन्धनमा रहेका अन्य दलका नेताहरू गठबन्धनको विकल्पबारे आन्तरिक छलफलमा जुटेका छन्। गठबन्धनमा रहेका दलहरूबिच कांग्रेससँग गठबन्धन नगरी आ-आफू एकीकृत भएर निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा देखिँदै आएका छन्।
सो छलफलमा दलहिन भएका बाबुराम र बामदेवलाई समेत सहभागी गराएर नयाँ दलको निर्माणको अभ्यास समेत सुरु भएको देखिन्छ। सैद्धान्तिक रूपमै विमति जनाएकाले बाबुराम माओवादीमा र बामदेव एकीकृत समाजवादीमा आउने सम्भावना देखिँदैन।
साउन ३, २०७९ मंगलबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।