कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ

धादिङः गङ्गाजमुना गाउँपालिकाका व्यापारीलाई आफू कर कार्यालयका कर्मचारी भनी ढाँटेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कर सङ्कलन गर्न गाउँ आएको बताउने उनीहरूलाई रकम सङ्कलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनीहरूले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिकरूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन्।

रकम लिएपछि उनीहरूले ओम शिवशक्ति सेल्स सेन्टरको नगदी रसिद दिएका थिए।

करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए।

प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर सङ्कलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन्।

साउन ३, २०७९ मंगलबार १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।