अवकाशको १८ दिन अगाडि एआइजी विश्वराजको राजीनामा

काठमाडौँ : आइजिपी बढुवाविरुद्ध सर्वोच्च अदालत गए पनि आफ्नो पक्षमा फैसला नआएपछि एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्।
उनले सोमबार प्रहरीको मानव स्रोत विभागमा राजीनामा दिएका हुन्। डेढ वर्ष अगाडि एआइजीमा बढुवा भए पनि आइजिपीमा धिरज प्रताप सिंहलाई सरकारले बढुवा गरेपछि उनी बिदामा बसेका थिए।
पोखरेलको अवधि १८ दिन मात्र बाँकी छ। एकै ब्याच भए पनि पोखरेल एआइजिपीमा सिंहभन्दा १६ महिना सिनियर भए पनि सरकारले सिंहलाई आइजिपीमा नियुक्त गरेपछि उनी वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा आफू नियुक्त हुनुपर्ने माग गर्दै सर्वोच्च गए पनि उनको पक्षमा फैसला आएन।
यस अगाडिका यस्ता मुद्दामा आएका फैसलाभन्दा भिन्न भए पनि पूर्ण पाठ नआएकाले इजलासले के-केमा टेकेर फैसला गर्यो सार्वजनिक भएको छैन।
यस अगाडिको जयबहादुर चन्द र प्रकाश अर्यालको नियुक्ति विरुद्ध अदालत गएका नवराज सिलवालको पक्षमा फैसला नआए पनि चन्दको नियुक्ति रोकिएको थियो।
त्यो बेलाको फैसलामा वरिष्ठता र कार्यसम्पादन नम्बरलाई बढुवाको आधार मान्नुपर्ने, एआइजी वा डिआइजीमध्येबाट सरकारले आइजिपी नियुक्त गर्न पाउने भए पनि नियुक्तिका आधार खुल्नुपर्ने उल्लेख थियो। त्यसैलाई आधार मानेर मगाइएको कार्यसम्पादन नम्बरमा अर्याल अगाडि देखिएपछि उनको नियुक्ति भने सदर भएको थियो।
साउन ३, २०७९ मंगलबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।