कम्युनिष्ट पार्टी जुटेर मात्र समाजवाद आउँछ: एमाले उपाध्यक्ष पाण्डे

काठमाडौंः एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रूपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका हुन्।
उनले भने, “अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपना मात्रै हो। लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्त्व आफ्नो हातमा आउनुपर्छ, अनि मात्रै अजेण्डा पूरा गर्न सकिन्छ।”
उनले आपस–आपसमा भिडेर एकअर्कालाई हराउने कामले कसैको भलो नहुने पनि बताए।
प्रशिक्षण कार्यक्रममा एमालेका सचिव तथा मधेश प्रदेशका इञ्चार्ज रघुवीर महासेठले स्थनीय तहको निर्वाचनको समीक्षा गर्दै संघीय तथा प्रदेश निर्वाचनका लागि तयार रहन कार्यकर्तासँग आग्रह गरे।
प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य प्रभु साह र पुरुषोत्तम पौडेलले मधेश प्रदेशको शक्ति सन्तुलन र एमालेको भूमिका, आन्दोलनमा एमाले र प्रचार कामलगायतका विषयमा प्रशिक्षण दिए।
एमाले मधेश प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम प्रदेशका आठ वटै जिल्लाका अगुवा नेता कार्यकर्ताको सहभागिता थियो।
साउन ३, २०७९ मंगलबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।