व्यवस्थापकसँग बदला लिन सहकारीका अध्यक्षले स्कुटरको डिक्कीमा पेस्तोल राखिदिए

ललितपुर : सहकारीबाट लिएर ऋण चुक्ता गर्न अनि अदालतमा विपक्षमा बकपत्र गरेको बदला लिन सहकारीका अध्यक्षले आफ्नै व्यवस्थापकको स्कुटरमा हतियार राखेर फसाउने योजना बुनेको देखिएको छ।
सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ र निवर्तमान उपाध्यक्ष अख्खनदास श्रेष्ठले व्यवस्थापक श्यामकृष्ण श्रेष्ठलाई अवैध हतियारमा फसाउन उनको स्कुटरमा पेस्तोल र गोली राखिदिएको ललितपुर प्रहरीले सार्वजनिक गरेको छ।
सहकारीबाट आफू र आफ्नो परिवारको सदस्यको नाममा निकालेको २ करोड ९५ लाख कर्जाको ब्याज र साँवासहित फिर्ता गर्न ताकेता गरेको र बहुविवाहको मुद्दामा आफ्नो विपक्षमा बयान दिएपछि अनिलको योजनामा र अख्खदासको सहयोगमा व्यवस्थापक श्यामकृष्ण श्रेष्ठलाई अवैध हतियारको केसमा फसाउन उनी चढ्ने स्कुटरको डिक्कीमा पेस्तोल र २ राउन्ड गोली राखिदिएको जिल्ला प्रहरी परिसरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
प्रहरीले असार १३गते श्यामकृष्ण चढ्ने स्कुटरको डिक्कीबाट पेस्तोल र गोलीसहित उनलाई पक्राउ गरेको थियो। उनले त्यसबारे केही जानकारी नभएको र पछिल्लो समय अनिल र अख्खनदाससँग विवाद रहेकाले उनीहरूले फसाउने प्रयास गरेको हुनसक्ने दाबी गरेका थिए।
कार्यालयको नाममा रहेको स्कुटरको एउटा चाबी अख्खदाससँग समेत रहेको खुलेपछि प्रहरीले उनले स्कुटी राख्ने गरेको कार्यालयको पार्किङ क्षेत्र कभर गर्ने क्लोज सर्किट टेलिभिजनको फुटेज हेर् जेठ २५ गते अनिलले स्कुटरबाट हतियार निकालेको देखिएको थियो। सो दिन प्रहरीलाई श्यामकृष्णको स्कुटर नम्बरसहित त्यसमा हतियार भएको जानकारी आएको थियो।
सो दिन दिनभर प्रहरीले सो स्कुटर खोजे पनि फेला पार्न सकेन। प्रहरीले श्यामकृष्णलाई पक्राउ नगरेपछि उनी विना काम सहकारीको पार्किङ क्षेत्रमा गएर दिउस पौने ३ बजे स्कुटरबाट हतियार निकालेका थिए। त्यसको फुटेज प्रहरीले फेला पारेको शाहले बताए।
श्यामकृष्ण पक्राउ परेको दिन पनि प्रहरीलाई उनको स्कुटरमा हतियार भएको जानकारी उनै अनिलले दिएका थिए। उनले जानकारी मात्रै दिएनन्। उनी स्कुटर चढेर मालपोत कार्यालय जान कार्यालयबाट हिँडेपछि प्रहरीलाई उनी कहाँ कहाँ गए भन्ने सबै जानकारी दिएका थिए। त्यो दिन उनले प्रहरीलाई २५ पटक फोन गरेका थिए।
उनकै जानकारीका आधारमा प्रहरीले श्यामकृष्णलाई स्कुटरसहित नियन्त्रणमा लिएर हतियारसहित पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि दुवै जनाको नाम लिएका थिए। अख्खदास पक्राउ परेपछि उनले २५ दिन अगाडि स्कुटरको चाबी अनिललाई दिएको खुल्यो। अनिलले स्कुटरको डिक्की खोलेर हतियार निकालेको पनि देखियो।
अनुसन्धानकैक्रममा अनिलले सर्लाही घर भई लुभुमा बस्ने शिवजी महतोको श्रीमती सरस्वती खत्रीलाई भगाएर दोस्रो विवाह गरेपछि उनीहरुविरुद्ध बहुविवाहको मुद्दा चलेको थियो। ललितपुरले नै २०७८ चैत मा बहुविवाहको मुद्दा दर्ता गरेको थियो। श्यामकृष्ण र शिवजी मिल्ने साथी भएकाले उनले अनिलको विरुद्धमा अदालतमा साक्षी बकपत्र गरेका थिए।
त्यही बेलादेखि उनले श्यामकृष्णलाई फसाउने योजना बनाएको प्रहरीको दाबी छ। त्यसमा उनले सहकारीबाट लगेको ऋण फर्काउन ताकेता गरेपछि उनले हतियार केसमा फसाउन जेठ २५ मै प्रयास गरेका थिए। उनले सो दिन पनि प्रहरीलाई फोन गरेर श्यामकृष्णले चढेको स्कुटरको नम्बर टिपाएर हतियार भएको जानकारी दिएका थिए। तर त्यो दिन प्रहरीले स्कुटर फेला नपरेकाले उनी पक्राउ पर्नबाट जोगिएका थिए।
खुलेका प्रमाणले श्यामकृष्णलाई फसाउन २ जनाले योजना बुनेको देखेपछि दुबैलाई अवैध हतियार र आपराधिक षड्यन्त्रको आरोपमा अदालतबाट म्याद लिएर हिरासतमा राखेर प्रहरीले श्यामकृष्णलाई भने हाजिर जमानीमा रिहा गरेको छ। अनिलले सो हतियार कहाँबाट ल्याए सोबारे भने अझैँ खुलिसकेको देखिएन।
साउन २, २०७९ सोमबार २२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।