त्रिविसँगको सहमतिपछि विद्यार्थी नेताले अनशन तोडे

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको सुधारको माग राख्दै आमरण अनशनमा बसेका अनेरास्ववियूका विद्यार्थी नेताहरूले सोमबार आमरण अनशन तोडेका छन्।
उनीहरू र त्रिवि वार्ता समितिबिच ११ बुँदे सहमतिसँगै अनेरास्ववियूका नेताले अनशन तोडेका हुन्। त्रिभुवन विश्वविद्यालयमा विभिन्न सुधारको माग राख्दै २८ गतेदेखि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण अनसन बसेका थिए। अहिले उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको रोहवरमा भएको सहमतिमा स्नातक, स्नातकोत्तर, एमफील तथा पिएचडी तहका नियमित र आन्तरिक श्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरूले लिने शुल्क समायोजन र नियमिततर्फ लैजाने उल्लेख छ।
पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गर्ने, विद्यार्थी सङ्गठनहरूको नेतृत्वसँग छलफल गरी स्ववियू निर्वाचन गराउन सरकारसँग समन्वय गर्ने, स्नातक, स्नातकोत्तर तहको विभिन्न विषयको प्रश्न पत्रमा देखिएका लापरबाहीका विषयमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ।
त्रिविले विभिन्न निकायसँग सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरेको छ। कार्यान्वयन नभए फेरी पनि आन्दोलन गर्ने बाटो अपनाउने नेताहरू बताउँछन्।
‘सहमति कार्यान्वयन नभए यसैलाई आधार बनाएर फेरी पनि आन्दोलन गछौं, अध्यक्ष पराजुलीले भने।
साउन २, २०७९ सोमबार २१:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।