त्रिचन्द्रको पुनर्निर्माण र खोसिएको जग्गा फिर्ता ल्याउन पूर्व विध्यार्थीहरुले डा मृगेन्द्रको संरक्षकत्वमा गठन गरे समिति

त्रिचन्द्रको पुनर्निर्माण र खोसिएको जग्गा फिर्ता ल्याउन पूर्व विध्यार्थीहरुले डा मृगेन्द्रको संरक्षकत्वमा गठन गरे समिति

काठमाडौँ : सरकारले त्रिचन्द्र कलेजको पुनर्निर्माण नगर्दा ऐतिहासिक शैक्षिक क्षेत्र जोखिममा परेपछि कलेजमा अध्ययन गरेका बौद्धिक व्यक्तिहरू सरकारलाई दबाब दिन सङ्गठित भएका छन्।

कलेजको नाममा रहेको जग्गा अन्य निकायलाई दिने, भूकम्पमा जोखिममा परेका अन्य भौतिक संरचनाको पुनर्निर्माण सक्दा समेत घण्टाघर समेत रहेको त्रिचन्द्रको पुरानो भवन जोखिममा पर्दा समेत वास्ता नगरेको भन्दै एक भेलाले कलेजका पूर्व विद्यार्थी तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मृगेन्द्र राज पाण्डेको सभापतित्वमा नागरिक सरोकार समूहको बैठक बसेको थियो।

शनिवार भएको समूहको बैठकमा त्रिचन्द्रमा अध्ययन गरेर अहिले विभिन्न क्षेत्रमा स्थापित भएका प्रभावशाली पूर्व विध्यार्थीहरु र कलेजको नेतृत्वमा रहेका पदाधिकारीहरू सहभागी थिए।

बैठकको १९७५ सालमा स्थापना भएको नेपालको शैक्षिक धरोहर त्रिचन्द्र कलेजलाई कसरी जोगाउने भन्नेमा केन्द्रित थियो। सरकारले व्यापारिक स्वार्थमा परेर त्रिचन्द्रको अवस्था पनि धरहरा जस्तै गराउन सक्ने भन्दै पुनर्निर्माणका लागि दबाब दिएसँगै सो भवनको भौतिक संरचना पुरानै स्वरुपमा पुनर्निर्माण गराउन दबाब दिने निर्णय गरेको थियो।

महाकवि देवकोटा लगायतले पढेको त्यो कलेजसँग नेपाली चेतना गाँसिएको र भावनात्मक सम्बन्ध कायम रहेको हुँदा त्रिचन्द्र कलेजलाई अरू संरचना जस्तो रूपमा सरकारले लिन नहुने कुरामा सबैमा एकमत रहेको थियो।

बैठकले सरकारलाई दबाब दिन त्रिचन्द्र कलेज संरक्षण समिति गठन गर्ने निर्णय गरेको थियो। समितिको प्रमुख सल्लाहकारमा डा. मृगेन्द्र राज पाण्डे रहेका छन्।

संवाद सहजकर्ता किशोर नेपाल, संयोजक डा . मधु घिमिरे, दमननाथ ढुङ्गाना, डा प्रकाश चन्द्र लोहनी, केदारभक्त माथेमा, जीवराज पोखरेल, डा आमोदमनि दीक्षित र गौरीनाथ रिमाल सदस्य रहेका छन्।

१०३ वर्ष पहिलोको पुरातात्त्विक भवन २०७२ साल वैशाख १२ को भुईँचालोपछि भग्नावशेष बनाउन पुनर्निर्माण नगरी छोडिएको भन्दै भवन जोगाउन जीर्णोद्धार गरी पहिलेकै रूपमा ल्याउन सरकारले यथाशक्य चाँडो कार्यको थालनी गर्नु पर्ने भन्दै प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको वरिष्ठ पत्रकार नेपालले जानकारी दिए।

त्रिभुवन-चन्द्र कलेजबाट  त्रि-चन्द्र कलेज र २०२८ को नयाँ शिक्षा योजना पछि त्रिचन्द्र क्याम्पस बनेको धरोहरको जनमीनहरू जताततै अतिक्रमण भइरहेका भन्दै बैठकले बागबजारमा रेडक्रसले लिएको जमिन, लैनचौरको शहीद स्मारक पार्क समेत त्रिचन्द्रकै रहेको र जमलमा रहेको ८ रोपनी त्रि-चन्द्रको जमिन सरकारले अरूलाई दिन खोजेको भन्दै सो जग्गा कलेजको नाममा आउनु पर्ने निर्णय समेत गरेको छ।

सो जग्गामा मास्टर प्लान अन्तरगत  त्रिचन्द्र क्याम्पसको सुविधा सम्पन्न आधुनिक भवन बन्नु पर्ने र यसको लागि पनि प्रधानमन्त्रीलाई अवगत गराई सो बमोजिमको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन पहल गर्ने बैठकले निर्णय गरेको छ।

दरबार स्कुलदेखि त्रि-चन्द्र क्याम्पससम्मको ऐतिहासिक धरोहरलाई शैक्षिक र पर्यटन क्षेत्रको रूपमा एकीकृत विकास गर्नुपर्ने र यसका लागि सरकार र सरोकारवालहरू बसेर स्वीकृत गरेको मास्टर प्लान अन्तर्गत मात्र गरिनु पर्ने बैठकले निर्णय गरेको छ।

त्रिचन्द्र र राष्ट्रीय पुस्तकालय सम्बन्धि समाचार

साउन २, २०७९ सोमबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।