राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

काठमाडौंः राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ परेका छन्। गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकोमा ६१ जना पक्राउ परेका हुन्।

डिभिजन वन कार्यालय चितवनका अनुसार अन्य २२ जना फरार रहेका छन्। पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ। यस्तै वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।

खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलव चार क्यूफिट बरामद भएको छ। यस्तै चाप चिरान काठ ४० दशमलव १७ क्यूफिट, उत्तिस ३५ दशमलव ५६ क्यूफिट, चिलाउने नौ क्यूफिट काठ बरामद गरिएको उनले जानकारी दिए।

आर्थिक वर्ष २०७७/७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ दर्ता भएका थिए। डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको वन हेर्दै आएको छ। यसमा बरण्डाभार क्षेत्रमा १० हजार ३०२ हेक्टर क्षेत्रफल पर्दछ। खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढीमात्रामा चोरी हुने गरेको छ। यस्तै राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत वन पैदावार चोरीतस्करी हुने गरेको कार्यालयले जनाएको छ।

यस्तै कार्यालयले गत आर्थिक वर्षमा रु तीन करोड ६९ लाख छ हजार राजश्व सङ्कलन पनि गरेको छ।

साउन २, २०७९ सोमबार १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।