देशमै पहिलो पटक नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

देशमै पहिलो पटक नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै
साङ्केतिक तस्बिर

काठमाडौंः काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा 'भेइकल स्क्यानिङ मेसिन' जडान गरिने भएको छ। सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको हो।

उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएको छ। यस्तै शङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम भइरहेको छ। अब देशमा नै पहिलो पटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य भएको हो।

यसका लागि चन्द्रागिरि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्त्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ।

नगरप्रमुख घनश्याम गिरीका अनुसार काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न जरुरी छ। "प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने?”, उनले भने।

सो मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ। मेसिनको करिब दुई करोड ५० लाख पर्ने जनाइएको छ।

उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ।

साउन २, २०७९ सोमबार ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।