डुम्रे–बेंसीशहर सडक अवरुद्ध: तलबाट मर्स्याङ्दी नदीको कटान, माथिबाट लेदोसहितको पहिरो

डुम्रे–बेंसीशहर सडक अवरुद्ध: तलबाट मर्स्याङ्दी नदीको कटान, माथिबाट लेदोसहितको पहिरो
साङ्केतिक तस्बिर

काठमाडौंः अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे –बेंसीशहर सडक अवरुद्ध भएको छ। सडकअन्तर्गत बेंसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

वैकल्पिक सडकको रूपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको भनाइ छ।

लेदोले सडक अवरुद्ध हुनुका साथै वैकल्पिक सडक पनि भासिएको छ। मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ।

सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारी साधन चल्न सकेका छैनन्। सडक अवरुद्ध भएपछि बेंसीशहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने सवारी साधन सञ्चालन हुन सकेको छैन।

यसअघि समेत गत असार २८ गते सोही स्थानमा सडक अवरुद्ध भएको थियो भने, सो अघि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो। ४२ किलोमिटर दूरी रहेको यस सडकखण्डमा पहिरोले यात्रुलाई समस्या उत्पन्न गराउँदै आएको छ।

साउन २, २०७९ सोमबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।