काठमाडौँको सडक होक्से बन्दै, मोबाइल र पाँच लाखको लोभ देखाएर भारतमा लगेर मिर्गौला बेचियो

काठमाडौँको सडक होक्से बन्दै, मोबाइल र पाँच लाखको लोभ देखाएर भारतमा लगेर मिर्गौला बेचियो

काठमाडौँ : राम्रो मोबाइल अनि पाँच लाख रुपैयाँ पाउने लोभमा पारेर घरबारहीन भएर सडकमा बस्दै आएकालाई भारतमा पूर्याएर मिर्गौला विक्री गराएको आरोपमा पाँच जना पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र विमलबहादुर शाही तथा झापाका आशिष तामाङलाई पक्राउ गरेको हो।

उनीहरूले शरीरमा दुई वटा मिर्गौला हुने भएकाले एउटा निकाल्दा केही नहुने भन्दै प्रलोभनमा पारेर भारत लगेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको ब्युरोको दाबी छ।

ब्युरोका अनुसार पहिला विमलबहादुर शाही र धनबहादुर रोकाले मिर्गौला बेचेका थिए। पछि उनीहरूले अन्यको खोजी गरेर फकाउँदै भारत लगेर मिर्गौला विक्री गराउन थालेका थिए।

उनीहरूले मुख्यतः सडकमा बस्ने गरेकाहरूलाई फकाएर भारतको कलकत्ता पूर्याएर मिर्गौला विक्री गराउने गरेको प्रहरीको दाबी छ। नेपालमा काभ्रेको होक्से मिर्गौलाको अवैध कारोबारका लागि कहलिएको क्षेत्र हो।

तर पछिल्लो समय काठमाडौँकै केही अस्पतालमै अवैध रूपमा मिर्गौला विक्री हुने गरेको खुलेको थियो। त्यसमा सरकारी अस्पताल शिक्षण अस्पताल महाराजगञ्जदेखि लिएर चिरायु अस्पतालसम्म जोडिएको थियो।

आइतबार प्रहरीले सार्वजनिक गरेको घटनापछि भने अब मानव अङ्गको कारोबारमा संलग्न समूहले सामान्य रकममै प्रलोभनमा पार्न सकिने सडकमा बस्ने समूहलाई टार्गेट गर्ने गरेको देखियो। अझ उनीहरूले मुख्य त सडकमै रात विताउने बालबालिकालाई प्रलोभनमा पार्ने गरेको देखियो।

प्रहरीले पक्राउ गरेको पाँच जनामा उता भारतमा मिर्गौला चाहिएको व्यक्ति खोज्ने र सोही अनुसार नेपालमा व्यक्ति खोज्न परिचालन गर्ने, त्यस्ता व्यक्ति खोज्ने अनि राजी भएका व्यक्तिको रक्त परीक्षण लगायतका काम गर्ने समूहमा रहेर सबै प्रकारका काम गर्नेहरू पक्राउ परेका छन्। उनीहरूले कति जनालाई भारत पुर्याए भन्ने अझै खुल्न भने सकेको छैन।

साउन १, २०७९ आइतबार २२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।