भारतीय प्रधानमन्त्री मोदीसँग भेट्न हतार गर्दै होटलबाट निस्किएका प्रचण्डले पाएनन् समय

काठमाडौँ : भारतीय जनता पार्टीको निमन्त्रणामा भारत गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार हतार-हतार होटलबाट निस्किए।
आइतबार एक बजे भेट्ने समय तय भएको थियो। उनी मोदीलाई भेट्न निस्कँदा निस्कँदै बिचैमा भेट सम्भव नभएको सन्देश आयो। अनि उनी हिस्स परेर नेपाल फर्किए।
प्रचण्ड शुक्रवार तीन दिनको भारत भ्रमणमा गएका थिए। भारत भ्रमणको अन्तिम दिन मोदीसँग भेट्ने कार्य तालिका बनेको थियो। उनले भारत भ्रमणको क्रममा विजेपीका अध्यक्ष जेपी नड्डासँग भने भेट्न पाए। नड्डासँग भेटेपछि मोदीसँग भेट्ने कार्यक्रम थियो।
‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ नेपाल फर्किएपछि विमानस्थलमा प्रचण्डले भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्किएका थियौँ तर होटल जाने क्रममा अहिले भेट सम्भव भएन भन्ने सन्देश आयो।'
उनले तय भइसकेको भेट किन रद्द भयो भन्ने आफूलाई जानकारी नभएको दाबी गरे। उनले जसले निमन्त्रणा गरेको हो ऊसँग भेट भएको र भेटको क्लाइमेक्स नै त्यही भएको दाबी गरेका थिए।
उनी भारत भ्रमणमा रहेको बेलामा नेपाली कांग्रेसकी नेतृ आरजु राणा पनि भारतमै थिइन्। उनी उपचारका लागि भारत गएको दाबी गरिएको छ। तर विस्तृत विवरण सार्वजनिक भएको छैन।
उनले भ्रमणबारे सन्तुष्टि जनाए पनि भारत भ्रमणको क्रममा प्रचण्डले त्यति महत्त्व पाएको भने देखिएन। उनले सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला लगायतकासँग भेट गरेका थिए। तर उनले भ्रमण सफल भएको बताए।
विमानस्थलमा चौथाइवाला लगायतकाहरु लगायतकाले विशेष उत्साहका साथ भव्य स्वागत गरेको भन्दै आफू प्रधानमन्त्री भएर जाँदा भन्दा फरक अनुभव नभएको दाबी गरेका थिए।
तर भ्रमण र भेटघाट हेर्दा नेपालका पूर्व प्रधानमन्त्री तथा सत्ताधारी दलमध्येका एक दलका नेताको जत्तिको महत्त्व नदिएको प्रस्टै देखिएको थियो।
साउन १, २०७९ आइतबार २२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।