भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री खाँण

भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले समाज कल्याण परिषद्को भृकुटी मण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताएका छन्। 

गृहमन्त्री खाँणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताएका हुन्। 

आगलागीमा परिषद् अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगका लागि राखेका सहायक सामाग्री पनि जलेका थिए। अपांगहरूका सहायक समाग्री गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उपलब्ध गराइने पनि अवलोकनका क्रममा गृहमन्त्री खाँणले बताए।  ‘राष्ट्रिय अपांग कोषलाई अपांगहरूलाई वितरण गर्न लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सहायक सामग्री उपलब्ध गराउँछौ,’ गृहमन्त्री खाँणले भने।  

उनले प्राधिकरणले उपलब्ध गराउने सहायक सामाग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिए। अवलोकनका क्रममा उनले आगलागी भएको स्टोर, राष्ट्रिय अपांग कोषको कार्यालय र अपांगहरूका लागि सहायक सामग्री निर्माण गर्ने स्थान र कुन अपांगलाई के सहायक सामग्री आवश्यक पर्छ भनेर जाच गर्ने स्थानको समेत अवलोकन गरे। 

गृहमनत्री खाँणलाई कोषका सभापति डेकराज भट्टराईले आगलागी, कोष र सहायक सामग्री निर्माणबारे जानकारी गराएका थिए। उनीसँग गृहसचिव टेकनारायण पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत अवलोकन गर्न पुगेका थिए।

स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो। आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन्।

साउन १, २०७९ आइतबार १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।