गठबन्धनले विदेशी चलखेल निम्त्याएको छ: एमाले महासचिव पोखरेल

पोखराः नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले विदेशी चलखेल निम्त्याएको बताएका छन्। आइतबार प्रेस चौतारी गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
महासचिव पोखरेलले गठबन्धनकै कारण मुलुक संकटको डिलमा पुगेको दावी गरे। उनले भने,‘गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक संकट देखिएको छ। गठबन्धनबाट विकास र समृद्धि सम्भव छैन। गठबन्धनले नीतिगत विचलन, स्वार्थको सौदाबाजी, राजनीतिक अस्थिरता र विदेशी चलखेललाई निम्त्याएको छ।’
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले स्वार्थ समूहले गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन खोजेको पनि आरोप लगाए। उनले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा गर्भनरमाथि आक्रमण भएको जिकिर गरे।
महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउन खोज्ने समूहले गर्भनर हटाउन सक्रिय भएको दाबी गरे। उनले भने,‘कालो धनलाई सेतो बनाउन नदिने अडानमा रहेकाले गर्भनर महाप्रसाद अधिकारीलाई हटाउन अनेक प्रयास गरेका छन्। स्वार्थी समूहको योजनालाई सफल हुन नदिने अडानमा रहेका अधिकारीलाई विभिन्न योजना बनाएर हटाउन खोजिएको छ।’
पोखरेलले नेपालको राजनीति दुई प्रवृत्तिको संघर्षमा रहेको बताउँदै एउटा शक्ति समृद्धिको लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने पक्षमा उभिएको र अर्को शक्ति स्वार्थका लागि राजनीतिलाई सौदाबाजीको विषय बनाउने अवसरवादी गठबनधन निर्माणमा केन्द्रित भएको उल्लेख गरे।
यस्तै उनले सामाजिक न्यायसहितको लोक कल्याणकारी राज्य व्यवस्था स्थापना गर्ने बाटोतर्फ केन्द्रित गर्दै समाजलाई उदार पुँजीवादतर्फ लग्न राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको पनि बताए।
साउन १, २०७९ आइतबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।