पत्रकार कुट्ने विद्युत् प्राधिकरणका सात कर्मचारी पक्राउ

काठमाडौंः पत्रकारमाथि कुटपिट गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन्।राष्ट्रिय समाचार समिति(रासस) का चितवन जिल्ला समाचारदाता कृष्ण आचार्यमाथि शुक्रबार कार्यालय परिसरमै कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्राधिकरणका उनीहरूलाई पक्राउ गरिएको हो।
प्राधिकरणको कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई उनीहरूले कुटपिट गरेका थिए।
हाल पक्राउ पर्नेमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल रहेका छन्।
उनीहरूलाई कानूनअनुसार कारबाही गर्नेगरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
पत्रकार आचार्यको भने हातमा चोट लागेको छ। उनको कपडा समेत च्यातिएको थियो।
समूह नै मिलेर कुट्न लागेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको उनले बताएका छन्। आचार्यलाई ती कर्मचारीहरूले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म लखेट्दै लगेका थिए।
उनीहरूले कुटपिट गरेपछि दुई वटा मोबाइल पनि नियन्त्रणमा लिएका थिए।
साउन १, २०७९ आइतबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।