गभर्नरविरुद्ध कांग्रेस विद्यार्थी सङ्गठन पनि सडकमा, कार्यालय छिर्न नदिने

काठमाडौँ : एमालेको समितिमा नाम रहेसँगै विवादमा आएका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ पनि विरोधमा उत्रिने भएको छ।
यस अगाडि माओवादी केन्द्रको सङ्गठन अखिल क्रान्तिकारी गभर्नर अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शनमा छ। सरकारमा रहेका दुवै दलका सङ्गठनले आइतबार संयुक्त प्रदर्शन गर्दैछन्।
पछिल्लो समय अधिकारी दलीय संलग्नतासँगै शैक्षिक योग्यताको विवादमा समेत तानिएका छन्।
दुवै सङ्गठनले आइतबार बिहान १० बजे नेपाल राष्ट्र बैकको गेट घेरेर गभर्नर अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरेका छन्।
विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले सम्बोधन समेत गर्नेछन्।
एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको रूपमा अधिकारीको नाम आएपछि विरोध सुरु भएको थियो। गभर्नरका लागि एमए उत्तीर्ण हुनुपर्नेमा अधिकारीको शैक्षिक योग्यता बिएमात्र भएको थप दाबी आइरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिन भनिसकेका छन्। उनले भने मौद्रिक नीति जारी गरेर बिदामा बस्ने वाचा गरेका छन्।
साउन १, २०७९ आइतबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।