क्रिकेटमा नेपालको लज्जास्पद हार

क्रिकेटमा नेपालको लज्जास्पद हार

काठमाडौँ : नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ नभमा १सय ३६ रनमा समेटिएर ६३ रनको लज्जास्पद हार बेहोरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाका लागि गेरहार्ड इरसमसले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाउँदा डेभिड विइसेले ३४, जेजे स्मिथले २७ तथा रुबेन ट्रुम्प्लेमन र जन निकोल लोफ्टी एटोनले १९ रन बनाएका थिए।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २-२ विकेट लिएका थिए। बसीर अहमेदले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको विकेट पतनको शृङखल पहिलो ओभरबाटै सुरु भयो। ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रूपमा देश खनाललाई १ रनमै गुमाएको थियो।

ओपनर आशिफ शेखले ३४ रन बनाएर १३.२ ओभरमा पभेलियन फर्किए। दीपेन्द्र सिंह ऐरीले आरिफ शेख, मोहम्मद आदिल आलम र पवन सर्राफसँग साझेदारी गरे।

३४.५ ओभरमा ऐरी रन आउट भएपछि नेपालको पारि डगमगायो। उनी पछि आएका सोमपाल कामीले १ रन बनाए। बसीर अहमद र सन्दीप लामिछानेले खाता खोल्न सकेनन्। ऐरीले सर्वाधिक ३८ रन बनाउँदा मोहम्मद आदिल आलमले २० तथा रोहितकुमार पौडेलले १७ रन बनाए।

नामिबियाका बर्नाड स्कोल्ट्चले सर्वाधिक ५ विकेट लिए भने जेन फ्राइलिन्क र गेर्हार्ड इरासमसले १ विकेट लिए।

जितसँगै नामिबिया क्रिकेट विश्वकप लिग २ को पाँचौँ स्थानमा उक्लिएको छ भने नेपाल छैटौँ स्थानमा झरेको छ। सिरिजको अन्तिम खेलमा नेपालले भोलि घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

असार ३२, २०७९ शनिबार २३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।