गगनले बोल्दै गर्दा देउवाले भने: महामन्त्रीज्यू कहिले काहीँ फोन उठाउने गर्नुस् न है

गगनले बोल्दै गर्दा देउवाले भने: महामन्त्रीज्यू कहिले काहीँ फोन उठाउने गर्नुस् न है

काठमाडौँ : नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले स्थानीय तहमा ३ सय भन्दा धेरै जित्यौ भनेर दम्भ देखिएको भन्दै दम्भ नराख्न आग्रह गरेका छन्।

केन्द्रीय समितिको बैठकमा बोल्दै उनले ठुला सहरमा धक्का लागेको भन्दै भने' लघुताभासका साथ हामी एक्लै लड्न सकिन्छ? बाँच्न सकिन्छ भन्ने लघुताभास कतिपय साथीहरूले कुरा राख्नु भएको छ।'

पार्टी सभापतिलाई  खुसी बनाउन भनिएका कुराले पार्टीलाई हित नहुने भन्दै उनले एक वर्ष सरकार चलाइसक्दा पनि अब फेरि पनि सरकार चलाउँदा के डेलिभरी गर्छौँ भन्ने प्रस्ट नभई मत नआउने बताए।

'हिजो ओलीले सरकार चलाउँदा सरकार कसरी चलाउनुपर्छ भनेर भन्यौ,' उनले भने' आज सकार कसरी चलेको छ देखिएको छ? डिफेन्स गर्ने अवस्था छैन।'

ट्विट गरेर बसेको भन्दै भएको आलोचनाको प्रतिउत्तर दिँदै उनले
पार्टीका गतिविधि समाचारबाट थाहा पाउनु परेपछि त्यसको प्रतिक्रिया समाचारबाटै हुने बताए।

'महामन्त्रीका हैसियतबाट कहाँबाट थाहा पाउनुपर्ने हो? यसरी नै सरकार र पार्टी चलाउने हो?' उनले प्रश्न गरे' यसमा सभापतिको ध्यान जाओस्। के हामीले निर्णय बोकेर मात्र हिँड्ने हो? सभापति, उपसभापतिले गरेको निर्णय बोकेर हिँड्ने हो? ताली पिट्ने मात्रै काम हो हाम्रो?'

उनले अर्थ मन्त्रालय नलिनु पार्टीको गल्ती भएको भन्दै उनले अर्थमा विकृति छ भनेको र सांसदहरूले सरकार छ भन्ने अनुभूति भएन। विकृतिको प्रतिरक्षा गर्न सक्दैनौँ। ओलीकै कार्यशैली पच्छाएपछि कसरी प्रतिरक्षा गर्ने हो।'

उनले पार्टीमा पेल्ने काम मात्र भएको बताए। 'फेरि पनि भित्तामा पुराउने, घेराबन्दी गर्ने हो भने तपाईँहरूले बुझ्नु होला हामी निर्वाचित महामन्त्री हो। यत्तिकै यहाँ आइपुगेको होइन। विधानले ६ महिना  भित्र गर्नु पर्ने काम सभापतिले कलम चोपेर हुने काम हो कि हामीले? युवाहरूले केही गरेनन् भनेर कतिपय साथीहरूले भन्नू भएको छ। सभापतिका अघि उहाँहरूको स्वर ननिस्कने।'

गुट भेला गर्ने भन्ने हरूलाई हिजोको तस्बिर हेरुन् भन्दै उनले ठुलो घर हुनेले ठुलै घरमा गुट भेला गरेको र घर नहुनेले  पार्टी प्यालेसमा राखेको बताए।

'गुट भेला माथि प्रश्न उठाउनेलाई लाज छैन? हिजो शेरबहादुरले गुट भेला गरो भन्नेले आज शेखरले गरो भन्ने?' उनले भने' ०६८ सालमा सुशील कोइरालालाई राजीनामा बुझाएर शेरबहादुर दाइ हिँड्दा फकाउने काम हामीले गरेका हौँ। मिलाऊ हिँडेका हौँ। आज एजेन्डामा छलफल गर्दा खेद्ने। सबैलाई न्याय भयो भने न गुट हुन्छ, न गुट भेला हुन्छ। हिजो ओलीले संवैधानिक परिषद्मा अहङ्कार देखाउँदा पार्टी फुट्यो, आज सरकारले त्यही अहङ्कार देखाउने?'

गगनले बोल्दै गर्दा देउवाले महामन्त्रीज्यू कहिले काहीँ फोन उठाउने गर्नुस् न है भनेका थिए।

असार ३२, २०७९ शनिबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।