जंगली जनावर र नागरिकबीचको द्वन्द्व कम गर्नेबारे सीडीओसँग गृहमन्त्रीको छलफल

जंगली जनावर र नागरिकबीचको द्वन्द्व कम गर्नेबारे सीडीओसँग गृहमन्त्रीको छलफल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन्। 

गृहमन्त्री खाँणले वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको दूरी कम गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा टेलिफोनमा कुराकानी गरेका हुन्। 

झापामा जंगली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक–पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाँणले सम्बन्धित निकायका प्रमुखसँग कुराकानी गरेका छन्। 

बर्दियाको मधुवन नगरपालिका वडा नं १, २ र ३ मा जंगली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका छन्। गत जेठमा बाघले पटक–पटक आक्रमण गरेपछि मधुवन नगरपालिकाको वडा नं २ ओराली बजारका स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा प्रहरीसँग झडप हुने अवस्थासमेत आएको थियो।

त्यसपछि मधुवन नगरपालिका प्रमुख तेजबहादुर भाटसहित टोलीले काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर वन्यजन्तुको आक्रमणबाट रोक्न जंगल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो। त्यो तारबार कसरी र कुन निकायको मार्फत गर्ने भनेर गृहमन्त्री खाँणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिए। 

‘जंगली जनावर र नागरिकबीचको दूरी बढाउन कसरी कुन निकायमार्फत अगाडि बढ्ने भन्ने विषयमा गृहमन्त्री खाँणले टेलिफोनमा कुराकानी गरेका  थिए। मैले वन मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्दा उपयुक्त हुने बताए,’ प्रजिअ बस्तोलाले बताए। वनक्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाउन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्टाउन केन्द्रमा माग गरिएको प्रजिअ बास्तोलाले बताए।

यता झापामा पछिल्लो एक महिनामा तीन जंगली हात्ती मृत फेला परेका छन्।  दुई वयस्क र एक बच्चा हात्ती के कारणले मरे भन्ने निश्चित भएको छैन । प्रकृति संरक्षण कोषले हात्ती मृत भेटिएको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ।

गृहमन्त्री खाँणले वनसचिव कडेलसँग पनि जंगली जनाबर बस्तीमा पस्न नदिन के के गरेर समस्या समाधान गर्न सकिन्छ भनेर छलफल गरे। गृहमन्त्री खाँणले झापाका प्रजिअ रिजालसँग त्यो घटना कसरी हुन गयो र यस्ता घटना हुन नदिन कसरी अगाडि बढ्नुपर्छ  भनेर कुराकानी गरेका हुन्। त्यहाँ पनि नागरिक र बन्यजन्तुबीचको दूरी बढाउने र आक्रमणको अवस्था कम गर्दै समस्याको समाधान निकाल्ने तयारीमा सरकार लागिरहेको छ।

असार ३२, २०७९ शनिबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।