लिग टुमा नेपाल आज नामिबियासँग भिड्ने, हारको बदला लिने अवसर

लिग टुमा नेपाल आज नामिबियासँग भिड्ने, हारको बदला लिने अवसर
तस्बिर: क्यान

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नामिबियाको क्रिकेट टोलीको सामना गर्नेछ। आईसीसी पुरुष विश्वकप लिग टु अन्तर्गत नेपाली समयअनुसार आज दिउँसो ३:१५ बाट नेपाल र नामिबियाबीचको खेल सुरु हुनेछ।

नामिबियासँगको पहिलो भेटमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा नामिबियाले नेपाललाई ४० रनले हराएको थियो। दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो।

आज तेस्रो खेलमा जित निकाल्न सके नेपालले जित यात्रा पनि कायम राख्नेछ भने नामिबियासँगको हारको बदला पनि लिनेछ। उता नामिबिया पनि लगातार दुई खेलमा नेपाललाई हराउने दाउमा हुनेछ।

तर स्कटल्याण्डविरुद्धका दुई खेलमा पराजित भएकाले नामिबियाको कमजोर मनोबलको फाइदा नेपालले उठाउन सक्नेछ।

अंकतालिकामा नेपाल हाल लिग टुमा पाँचौं स्थानमा छ। १८ खेलमा नेपालले १७ अंक जोडेको छ। यस्तै नामिबिया भने छैटौं स्थानमा छ।नामिबियाले १७ खेलमा १६ अंक जोडेको छ।

यस श्रृङ्खलाअन्तर्गत नेपालले अन्तिम खेल आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ।

असार ३२, २०७९ शनिबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।