बाबुरामद्वारा आफूसहितका नेतामाथिको कारबाही खारेज, पार्टी पुनर्गठनका लागि अपिल

बाबुरामद्वारा आफूसहितका नेतामाथिको कारबाही खारेज, पार्टी पुनर्गठनका लागि अपिल

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) बाट निष्काशित नेता डा. बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भर्त्सना गर्दै उक्त निर्णय खारेज गरेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाही गर्दै पार्टीबाट निष्काशन गरेका थिए।

भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै आफूहरूसामु पार्टी पुनर्गठनको मात्र विकल्प भएको भन्दै त्यसमा जुट्न सबैलाई अपिल गरेका छन्। उनले जसपाकै संघीय परिषद् अध्यक्षको हैसियतमा विज्ञप्ति जारी गरेका छन्।

“हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ। यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन”, भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उता अध्यक्ष यादवले भने पार्टीको विधि, विधान र पद्धतिअनुरूप नचलेकाले उनीहरूलाई कारबाही गरिएको स्पष्ट पारेका छन्।

जसपाका नेता मोहम्मद इस्तियाक राईले भने पार्टी अध्यक्षले बैठक बोलाउने र यसमा सहभागी हुने नहुने सम्बन्धितको इच्छा रहेको बताए। उनले भने, “पार्टीको बैठक अध्यक्षले बोलाउने हो, अर्को पक्ष (बाबुराम भट्टराई पक्षका नेता) बैठकमा सहभागी नहुनु उहाँहरुको इच्छा हो, पार्टी सञ्चालन प्रक्रिया पार्टीको राजनीतिक दलको विधानअनुरूप हुने हो।”

यता भट्टराईले भने पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको भन्दै यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर अवैधानिकरूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको आरोप लगाएका छन्।

असार ३२, २०७९ शनिबार ०९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।