जनार्दनबारे छानबिन गर्न गठित समितिले अर्थ सचिवसँग बयान लिँदै

काठमाडौँ : अनधिकृत व्यक्तिलाई मन्त्रालयमै बिलाएर बजेट हेरफेर गर्न लगाएको आरोपमा राजीनामा दिन बाध्य भएका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयका अधिकारीहरू बयान लिने भएको छ।
शनिवार सिंहदरबारमा रहेको समिति सचिवालयमा अर्थ मन्त्रालयका अधिकारीहरूको बयान लिन लागिएको समितिका एक सदस्यले जानकारी दिए।
शनिवार दिउस अर्थ सचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरू, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकसँग समितिले बयान लिँदैछ।
१० दिन भित्र प्रतिवेदन बुझाउने गरी सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेका थिए। समितिले काम थालेको पाँच दिन भइसकेको छ।
समितिले बजेट सम्बन्धी कागजपत्र र क्लोज सर्किट टेलिभिजनको फुटेज पाए पनि त्यसको विस्तृत अध्ययन गरेको छैन।
असार ३२, २०७९ शनिबार ०८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।