साढे २ वर्षपछि निर्वाचनको मुखैमा नयाँ उपसभामुख

काठमाडौँ : नयाँ निर्वाचनका लागी पाँच महिना जति बाँकी रहँदा सत्ताधारी गठबन्धनको सहमतिमा साँढे २ वर्षपछि प्रतिनिधि सभाले उप सभामुख पाएको छ। शिवमाया तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा उपसभामुख पदबाट राजीनामा दिएपछि नयाँ उपसभामुखको निर्वाचन भएको थिएन।
बलात्कार प्रयासको आरोप लागेसँगै तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद नछाड्न तत्कालीन बाम गठबन्धनले शिबमायालाई राजीनामा दिन लगाएर सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाएको थियो।
सरकारले ५० प्रतिशत सदस्य उपस्थित भए पनि निर्णय हुनसक्ने प्रावधान राखेर एकाएक संवैधानिक परिषद्बारे अध्यादेश ल्याउन खोजेपछि विरोध भयो। सँगै एकाएक सरकारले उपसभामुखको निर्वाचन गर्यो।
सभामुख माओवादी केन्द्रको रहेको र उपसभामुख अलग दलबाट हुनुपर्ने प्रावधान अनुसार गठबन्धनको तर्फबाट पुष्पा भुसाल उम्मेदवार बनेकी थिइन्। एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो। १ सय ४८ मत पाएर ल्याएर भुसाल विजयी भइन् भने भट्टराइको पक्षमा ९३ मत मात्र पर्यो।
उपसभामुखमा विजयी भएपछि भुसालले ‘लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भएको भन्दै संविधानको पक्षधर र लोकतन्त्रवादीहरूका लागि खुसीको दिन भएको प्रतिक्रिया दिएकी थिइन्।
भुसाल २०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर तत्कालीन वाम गठबन्धनबाट६ उम्मेदवार बनेकी एमालेकी तुम्बाहाम्फेसँग पराजित भएकी थिइन्। तुम्बाहाम्फेले २ सय १ मत पाउँदा उनले ५८ मत पाएकी थिइन्।
असार ३१, २०७९ शुक्रबार १८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।