भारतले नेपाललाई दियो तीन हजार थान टेन्ट र १० हजार थान 'रबर बोट'

भारतले नेपाललाई दियो तीन हजार थान टेन्ट र १० हजार थान 'रबर बोट'

काठमाडौंः भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय जनता र भारत सरकारको तर्फबाट राहत सामाग्री हस्तान्तरण गरेका हुन्।

भारतले नेपाललाई उपलब्ध गराएको राहत सामग्रीमा तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ छ।

हस्तान्तरण कार्यक्रममा गृहमन्त्री खाँणले धन्यवाद व्यक्त गर्दै नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए। नेपाल बाढी, पहिरो, डुवानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग भइरहने विश्वास व्यक्त गरे।

कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुमै राहत सामग्री हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले प्राकृतिक प्रकोपबाट बच्न भारतले नेपाललाई सहयोग गर्दै आएको र यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

केही दिनअघि मात्रै नेपालका लागि भारतीय राजदूत बनेर आएका श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतीबीचको सम्बन्ध अझ प्रगाढ बनाउन प्रयास गर्ने बताए।

असार ३१, २०७९ शुक्रबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।