असफल सावित भइरहेका विराटलाई बाबरको सान्त्वना

असफल सावित भइरहेका विराटलाई बाबरको सान्त्वना

काठमाडौंः भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले सचिन तेन्दुल्करको १०० शतकको कीर्तिमान तोड्न सक्छन् भनेर धेरैले आकलन गरेका थिए। करियरको सुरुआत र मध्यबेलाको विराटको रेकर्ड हेर्ने हो भने त्यो सम्भव थियो पनि।

किनकी उनले निकैअघि नै आफूलाई सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा राखिसकेका थिए। फर्ममा नरहँदा पनि आजसम्म सचिन र रिकी पोन्टिङपछि ७० शतकसहित उनी नै तेस्रो नम्बरमा आउँछन्।

तर ७७ अन्तर्राष्ट्रिय खेलयता उनको ब्याटबाट शतक निस्किएकै छैन। शतक त परको कुरा, यो अवधिमा धेरै खेलमा उनी 'डक आउट' भएका छन्।

विराटले अन्तिम शतक बङ्गलादेशविरुद्ध सन् २०१९ को नोभेम्बरमा थियो। त्यो पनि टेस्ट क्रिकेट थियो। उनले त्यसबेला १३६ रन बनाएका थिए।

हिजोकै खेलको कुरा गर्ने हो भने भारतले इङ्ग्ल्याण्डविरुद्ध लज्जास्पद हार व्यहोर्यो। दोस्रो एकदिवसीयमा भारत इङ्गल्याण्डसँग १०० रनले पराजित भयो।

यो खेलमा विराट फर्किए। पहिलोमा उनी चोटका कारण मैदानबाहिर थिए। धेरैलाई लागेको थियो- विराटले शतकको खडेरी तोड्छन् भनेर। तर ३३ वर्षीय विराट स्ट्राइक रेटमै असर पारेर १६ रनमा आउट हुनपुगे। उनले २५ बल खेलेका थिए।

यता, वेस्ट इण्डिजविरुद्धको टी ट्वेन्टी श्रृङ्खलामा छनोट भएका १८ भारतीय खेलाडीको टोलीमा पनि उनको नाम छैन। जुलाई २९ बाट यो श्रृङ्खला सुरु हुँदैछ।

सबैतिरबाट आलोचना खेपिरहेका विराटलाई पाकिस्तानी क्रिकेट टोलीका कप्तान तथा अहिलेको समयका उत्कृष्ट ब्याट्सम्यान बाबर आजमले भने सान्त्वना दिएका छन्। गए राति ट्वीट गर्दै बाबरले लेखेका छन्, 'यो पनि पार हुनेवाला छ। बलियो रहनू।'

बाबर आजम यतिबेला टी ट्वेन्टी र एकदिवसीयमा शीर्ष स्थानमा रहेका ब्याट्सम्यान हुन्। टेस्टमा उनी चौथो स्थानमा छन्।

विराटको 'आउट अफ फर्म' अवस्थालाई मध्यनजर गर्दै उनले लेखेको शब्दले यतिबेला चौतर्फी तारिफ बटुलिरहेको छ। बाबरले आफ्नो र विराटको तस्बिर राखेर गरेको ट्वीटले यतिबेला क्रिकेट कम्युनिटीमा सकारात्मक सन्देश दिएको छ।

एक साताअघिको कुरा हो- भारतीय टोलीका कप्तान रोहित शर्माले पनि विराटलाई यसैगरी समर्थन गरेका थिए। उनले भनेका थिए, 'जब कसैले लामो समयदेखि निरन्तर रन बनाइरहेको छ, उसले एक वा दुई श्रृङ्खला वा एक वा दुई वर्ष रन बनाएन भन्दैमा हामीले उसको योगदानलाई भुल्नु हुँदैन।'

उनले विराट महत्त्वपूर्ण सदस्य भएको भन्दै विज्ञहरूले आलोचना गर्न पाउने तर आफूहरू यस्ता कुराबाट विचलित नहुने पनि बताएका थिए।

असार ३१, २०७९ शुक्रबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।