जुम्लामा विद्युत्गृहको भवन भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

जुम्लामा विद्युत्गृहको भवन भासिँदा एकै परिवारका तीन जनाको मृत्यु
तस्बिरः सामाजिक सञ्जाल

जुम्लाः हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको भवन भासिँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। गए राति करिब साढे २ बजे विद्युत् गृहको भवन भासिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्य रहेका छन्। उनीहरू विद्युत्गृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र छोराहरू हुन्। 

बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती गएपछि के भयो भनी हेर्न जाँदा घर भासिएको देखेका थिए। 

मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए। प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीय राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ।

असार ३१, २०७९ शुक्रबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।