जसपाले गर्याे बाबुराम भट्टराईसहित ९ नेतालाई कारबाही, राई बने संघीय परिषद अध्यक्ष

काठमाडौँ : जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषद अध्यष डा बाबुराम भट्टराईलाई कारबाही गरि संघीय परिषदको अध्यक्षमा अशोक राईलाई चयन गरेको छ। वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो।
कारबाही गरिएका ९ केन्द्रीय नेतामा अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेका छन्।
विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै उनीहरुलाई कारबाही गरिएको जसपाका कार्यकारिणी सदस्य प्रमोद शाहले जानकारी दिए। ‘विधान अधिवेशन चुनाव पछि गर्ने, केन्द्रीय कार्यकारिणी ५३ सदस्यीय बनाउने निर्णय भयो, ४९९ केन्द्रीय केन्द्रीय कार्यसमिति पुर्नगठन हुन्छ,’ शाहले उकेरासँग भने।
भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो। औपचारिक घोषणाबिना पाटीर्प विभानजन भयो नि भन्ने उकेराको प्रश्नमा शाहले भने, ‘विभाजन होइन, ८–९ जनालाई कारबाही गर्दैमा पार्टी विभाजन भन्न मिल्दैन।’
असार ३०, २०७९ बिहीबार २०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।