महिला कर्मचारी मात्र रहने गरी महाराजगन्जमा खुल्यो एनसेल सेन्टर

महिला कर्मचारी मात्र रहने गरी महाराजगन्जमा खुल्यो एनसेल सेन्टर

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले काठमाडौँको महाराजगन्जमा सबै कर्मचारी महिला मात्रै हुने गरी नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ।

सो सेन्टरको व्यवस्थापनदेखि सबै काममा महिला कर्मचारीहरू मात्र रहेका छन्। एनसेलले विविधता, समानता र समावेशिता (डीइआई) मिसन अनुरूप सो सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले काठमाडौँको मुटु महाराजगन्जमा पूर्णरुपमा महिला कर्मचारीहरूद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताएका थिए। उनले यो कदम एनसेलको विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठुलो महत्त्व राख्ने बताएका थिए।

एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले यसअघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरैजसो पुरुषहरूको सहभागिता रहने गरे पनि ३–४ वर्षयता यो क्षत्रमा लैङ्गिक समानताकालागि निरन्तर प्रयासहरू भइरहेको बताएकी थिइन्।

महिला कर्मचारीहरूद्वारा सञ्चालित एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूबारे जानकारी लिन सक्नेछन्।

साथै सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ग्राहकहरूले सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरको फेरबदल, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यो सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा सेन्टरमा आउने ग्राहककालागि एक हप्ताको विशेष अफर समेत रहेको छ। जसमा सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन्।

नयाँ सेन्टरबाट गरिने प्रत्येक ५० रूपैंयाको रिचार्ज बराबर ग्राहकले २० रूपैंयाको रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

त्यस्तै दुई सयको रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको चार वटा रिचार्ज कार्ड बोनस स्वरूप पाउन सक्नेछन् भने पाँच सयको रिचार्ज गर्ने ग्राहकले २० रूपैंयाको १० वटा रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त गर्नेछन्।

असार ३०, २०७९ बिहीबार १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।